मंगलबार साँझ बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा युवा युवती गरी ७१ जना विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर बसेका थिए। आफ्ना लागि आफैंले तयार पारेको पहिरन र सोही पहिरनलाई मोडल जस्तै विभिन्न हावभाव दिंदै रनवेमा प्रस्तुत गर्नका लागि आतुर उनीहरुमा वेग्लै खालको उत्सुकता र रोमाञ्चता देख्न सकिन्थ्यो। आईआईएफटी नेपाल नामक फेसन डिजाइनिङ इन्स्टिच्युटमा अध्ययनरत फेसन डिजाइनिङका विद्यार्थी उनीहरुले ड्रेस टू इम्प्रेस शीर्षक अन्तर्गतको प्रतियोगिताका लागि त्यसरी आफूलाई तयार पारेका थिए।

कार्यक्रमले गति लिएसंगै फिटेड गाउन, लेहेंगा, ककटेल, कल्चुरल तथा फ्लो गाउन अन्तर्गत विद्यार्थी डिजाइनरहरुले आफूले सृजना गरेका पहिरनहरु आफैंले प्रस्तुत गरे। उनीहरुको मोडल रुपी प्रस्तुतिलाई कोरियोग्राफर विपना थापाले निर्देशन गरेकी थिइन्। उनीहरुको सृजनाको मुल्यांकनमा थिए, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, हेयरस्टाइलिष्ट नील डेविड कटुवाल, डिजाइनरद्वय विश्व गौतम र राजु सुवाल तथा गायिका एवं नायिका विष्णु चेम्जोङ।

करिब दुई घण्टा प्रस्तुतिको अन्तमा ड्रेस टू इम्प्रेसको विजेता घोषणा गरियो। जसमा कालो रंगको फ्लो गाउन बनाएकी सोनी श्रेष्ठ विजेताको हकदार बनिन् भने मयुरबाट प्रभावित ककटेल पहिरन बनाएकी स्वेता शाक्य फस्ट रनर अप तथा टाईडाई गरी तयार पारिएको लेहेंगा बनाएकी शारह बानियाँले सेकेन्ड रनर अप को अवार्ड थाप्न सफल भए। उनीहरुले क्रमशः नगद पुरस्कार रु पन्ध्र हजार, दश हजार तथा आठ हजार प्राप्त गरेका थिए। कार्यक्रममा गायकद्वय लाक्पा शेर्पा र प्रवेश मान शाक्य तथा गायिका विष्णु चेम्जोङले आफ्ना गीतहरु सुनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here