मिस गुरुङ इन्टरनेशनल–चौथो संस्करणको लागि आवेदन फारम खुला भएको छ । मृगतृष्णा फेसन हाउसको आयोजना र नेसनल न्युरो सेन्टर तथा नेपाल स्ट्रोक एसोसियसनको सहकार्यमा हुन लागेको उक्त प्रतियोगिताका लागि भदौ १६ देखि नै आवेदन खुला गरिएको हो ।
प्रतियोगिताको चौथो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन डिजाइनर तृष्णा गुरुङले बताइन् । उनका अनुसार असोज १६ गते काठमाडौँको सामाखुसीस्थित मगर हाउसमा अडिसन हुँदैछ । काठमाडौं बाहिर सहरका आवेदकको भने अनलाइनमार्फत असोज १७ र १८ गते अडिसन लिइने जनाइएको छ ।‘मिस गुरुङ इन्टरनेशनल–२०२१’ मा अडिसन दिएका मध्ये देशभर बाट १५ जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा कात्तिक महिनाको अन्तिममा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा हुने गुरुङले जानकारी दिइन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँका साथै १० लाख रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गर्ने साथै, थाइल्यान्ड भ्रमणको पनि अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।