मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीन दिने नेपाल भ्रमणका नेपाल आइपुगेकी छन्। बिहीबार नेपाल आएकी टोनीलाई स्वागत गर्न मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
मिस नेपाल अनुष्का श्रेष्ठको पहलमा हिडन ट्रेजर र नेपाल पर्यटन बोर्डको सहकार्यमा टोनी नेपाल आएकी हुन्। जमैकाकी टोनीसँगै मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्लसमेत नेपाल आएका छन्।
उनीहरू विशेगा गरेर नेपालमा मिस वर्ल्ड प्रतियोगिता आयोजनाको सम्भाव्यता र विउटी विथ पर्पोज अवार्ड विजेता शृङ्खला खतिवडा (२०१८) र अनुष्का श्रेष्ठ (२०१९) द्वारा सञ्चालनमा रहेका प्रोजेक्टहरूको अवलोकनका लागि नेपाल आएको मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरका पूर्व अध्यक्ष तथा निर्देशक सुन्दरबहादुर क्षेत्रीले जानकारी दिए।
उनीहरु बिहीबार सहित तीन दिन नेपालमा रहनेछन्।
हिडन ट्रेजरको २५औं वर्षगाँठ र नेपाल भ्रमण वर्षको संयोगका बीच निमन्त्रणा गरिएका उनीहरुले शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणधीन हिमालयन ग्रेट ट्रेल र मिस नेपाल अनुस्काद्वारा हेलम्बुको सोस्लिङमा सञ्चालनमा रहेको प्रोजेक्टका अवलोकन गर्नेछन्।
त्यसैगरी अघिल्लो वर्षकी मिस नेपाल शृङ्खला खतिवडाद्वारा सञ्चालनमा रहेको प्रोजेक्ट अवलोकल गर्न पनि उनीहरू मकवानपुर पुग्नेछन्।
तस्बिर सौजन्य : उमेश कार्की