झापाका सन्तोष लक्समले ‘मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि जितेका छन् । शनिवार राति काठमाडौंको सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा सन्तोषले ३८ जना युवाहरुलाई पछि पार्दै मुख्य उपाधिमा कब्जा जमाएका हुन् । प्रतियोगितामा मिस्टर नेपाल वर्ल्डको उपाधि विजेता लक्समले अब ‘मिस्टर वर्ल्ड २०२४’ अथवा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अवसर पाउने आयोजक संस्थाले जनाएको छ ।
नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको यो प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठले मिस्टर ग्लोबल नेपालको उपाधि जितेका छन् भने काभ्रेका आयुष दुलालले म्यान अफ द वर्ल्ड नेपालको उपाधि जितेका छन् । धरानका आदेश प्रधानले फर्स्ट रनर्सअपको उपाधि जितेको यो प्रतियोगितामा हेटौंडाका आयुष बमजोमले सेकेण्ड रनर्सअपको उपाधि जितेका छन् । यो प्रतियोगितामा देशभर आयोजित अडिसनबाट ३८ युवाहरुलाई छनौट गरिएको थियो ।
प्रतियोगिताको निर्णायकमा मिस नेपाल नम्रता श्रेष्ठ, अभिनेत्री नीति शाह, फोटोग्राफर राजभाइ सुवाल, मिस नेपाल माल्भिका सुब्बा, चिकित्सक डा.रुपक घिमिरे, व्यवसायी टिकाराम बुढाथोकी तथा कलाकार सन्दीप पोखरेल रहेका थिए ।
यसपटकको मिस्टर नेपालमा काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी काठमाडौं १० युवाहरुले प्रतिस्पर्धा गरेका थिए । राजधानी काठमाडौंबाट विशेष खड्गी, पियुष श्रेष्ठ, नवराज प्रसाईँ, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ तथा सक्कर बाजीमयले भाग लिएका थिए । प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठले भाग लिएका छन् भने ललितपुरका सयन्तराज घिमिरे तथा सिजल कपाली प्रतिस्पर्धि थिए ।
पूर्वी नेपालको झापाबाट मणि निरौला तथा सन्तोष लक्समले मिस्टर नेपालमा भाग लिएका थिए भने मोरङका सागर घिमिरे (विराटनगर), पिन्टु सान्याल (विराटनगर), सोहज खान (विराटनगर), सागर घिमिरे (विराटनगर) तथा प्रकाश चौहान (पथरी) ले प्रतिस्पर्धा गरेका थिए । सुनसरीबाट अग्रज श्रेष्ठ तथा आदेश प्रधान (धरान) ले यो प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगितामा सप्तरी (राजविराज) का सुशान्त कुमार दास, जनकपुरका सञ्जय मण्डल र राजेश झा, हेटौंडाका आयुष बमजोम तथा उमंग आचार्यले प्रतिस्पर्धामा भाग लिएका थिए । यो प्रतियोगितामा चितवनका विपन श्रेष्ठ, पोखराबाट अशोक बिक, सुशान्त पौडेल र समीर तिमिल्सिना, लमजुङबाट मनोज गुरुङ, रसुवाबाट सरोज तामाङ मोक्तान, बुटवलका आविष्कार खड्का, दाङका स्वस्तिक देवकोटा, नेपालगञ्जबाट सत्यनारायण चौधरी, सुभम बर्नवाल, अनिकेत प्रजापति तथा विश्व बराइली, कैलालीबाट राहुल रावल तथा धनगढीबाट दिपेश चौधरीले प्रतिस्पर्धामा भाग लिएका थिए ।