बौद्धिकता र प्रतिभा मापनसंग सम्बन्धीत बाल सौन्दर्य प्रतियोगिता मिस हिमालय लिटिल एन्जेल काठमाडौंको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा कोपिला सिलवाल ग्राण्ड विनर बन्न सफल भएकी छिन् ।

ग्राण्ड विनर भएसंगै कोपिलाले पचास हजार नगद पुरस्कार प्राप्त गरेकी छिन् । यसैगरी प्रतियोगिताको ग्राण्ड फस्ट रनर्स अपका रुपमा रोजमेरी राई र ग्राण्ड सेकेन्ड रनर्स अपका रुपमा मेधावी खनाल चयन भएका छन् । उनीहरुले क्रमशः नगद पुरस्कार रु तीस हजार तथा रु बीस हजार प्राप्त गरेका छन् । कथा ईभेन्ट्सको ब्यानरमा संंचालन भएको सो प्रतियोगितात्मक कार्यक्रम माइति नेपालका संस्थापक अध्यक्ष एवं सामाजिक अभियन्ता अनुराधा कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । सहभागिहरुको उमेर समूह अनुसार तीन समूह अन्तर्गत सहभागिहरुवीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा समूह ए बाट मेधावी खनाल विजेता भइन् भने क्रिस्टिना लामा फस्ट रनर्स अप, स्यारोन लामा थिङ सेकेन्ड रनर्स अप तथा प्रनिका गुरुङ पब्लिक च्वाइस विजेताको रुपमा छनौट भएका थिए । समूह बी बाट भने रोजमेरी राई विजेता, सिरिष्मा लामा पब्लिक च्वाइस सहित फस्ट रनर्स अप तथा मेरविन पौडेल सेकेन्ड रनर्सका रुपमा चयन भएका थिए ।

समूह सीबाट भने कोपिला सिलवाल विजेता, कृतिका श्रेष्ठ फस्ट रनर्स अप, दलामु शेर्पा सेकेन्ड रनर्स अप तथा चेसुम शेर्पा पब्लिक च्वाइस विजेताका रुपमा पुरस्कृत गरिएका थिए । संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी तथा संचालनमा अगाडि बढेको प्रतियोगिताका सहभागिहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी डिजाइनरहरुले तयार पारेका पहिरनमा आफ्नो प्रस्तुति दिएका थिए ।

सुर्भी मगरको निर्देशनमा स्वागत नृत्य प्रस्तुत गरेका सहभागिहरुको समग्र प्रस्तुतिको मुल्यांकनमा अभिनेता एवं निर्माता रमेश उप्रेती, चलचित्रकर्मी एवं निर्माता निर्मल शर्मा, गायक एवं सामाजिक अभियन्ता निर्णय श्रेष्ठ तथा वल्र्ड बुक अफ रेकर्डस् नेपालका अध्यक्ष सागर कटुवालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here